September 22, 2021

AAjakokhaber

No 1 News Portal From Nepal

डेढ करोड बढी लगानीमा कृषि फार्म सुरु

चक्रपथबाट सात किलोमिटर पर गोदावरी नगरपालिका–९, छम्पी भञ्ज्याङमा छ ‘इडियु फार्म’। इडियु अर्थात् एजुकेसन (शिक्षा) को छोटकरी। कृषि शिक्षा दिने र कृषि पर्यटनको उद्देश्यले खोलिएको यो फार्ममा विशेषगरी विद्यार्थीहरू आउँछन्। २५ रोपनी जग्गामा फैलिएको फार्म सोम पनेरू र दीपक थापाले सञ्चालन गरेका हुन्।

फार्मभित्र बास बस्न मिल्ने गरी कटेज व्यवस्था छ। तर पहिलो लकडाउनमा विद्यालय बन्द भएदेखि फार्ममा न विद्यार्थी आएका छन्, न अरू ग्राहक।

‘बन्दले फार्म अवलोकन गर्न कोही आउन सकेका छैनन्। सञ्चालन गर्न ऋण अझ थप्न पर्‍यो, केही उपाय लागेन,’ सोमले सुनाए। महामारीले बन्द नभइदिएको भए उनीहरू यतिखेर पहिलेको ऋण तिरेर आम्दानी गर्नतिर लम्किसकेका हुन्थे। तर लामो समय सञ्चालन गर्न नपाउँदा ऋण थपियो। अनि फार्मको उद्देश्य पनि फरक पारिदिएको छ।

पहिले उनीहरू फार्ममा उत्पादित कुनै सामान बेच्थेनन्। अवलोकन गर्न आउनेलाई देखाउन र खुवाउन प्रयोग गरिन्थ्यो। ग्राहक आउन छाडेपछि तिनै उत्पादन बेचेर खर्च धानिरहेको सोम बताउँछन्।

‘हामी पहिले फार्म देखाएर कमाउँथ्यौं, अहिले यहाँको सामान बेच्न परेको छ,’ उनले दुःखी हुँदै सुनाए, ‘धेरै उत्पादन त छैन, मासिक ४०/५० हजारको बेच्छौं। बैंकको ब्याज तिर्न सघाएको छ।’

उनका अनुसार पहिलो लकडाउनको सुरूमा कुखुरा, बट्टाइको अन्डा, तरकारी बेचेर जेनतेन ब्याज तिरे। लकडाउन लम्बिँदै गएपछि पशुपंक्षीलाई खुवाउने दाना खर्च बढ्न थाल्यो। त्यसपछि पशुपंक्षी नै बेचिदिए।

फार्म सुरू गर्न उनीहरूले एक करोड ६० लाख रूपैयाँ लिएका थिए। ६० लाख तिर्न बाँकी थियो। फार्मका सबै पशुपंक्षी बेचेपछि नयाँ चल्ला हाल्न र जग्गा भाडा तिर्न फेरि ३० लाख ऋण थपे।

उनी भन्छन्, ‘फार्म नचले पनि पशुपंक्षी त हाल्नै पर्‍यो। बन्द खुलेपछि ग्राहकलाई देखाउन पर्छ।’

बन्दले मासिक एक लाखको कारोबार ठप्प भएको सोम बताउँछन्। फार्ममा सात जना कर्मचारी थिए। लकडाउनपछि तीन जना घर गएकाले अहिले चार जना मात्र छन्। वार्षिक दुई लाख भाडा तिर्नुपर्ने फार्मको खर्च तरकारी र दूध बेचेर धानिरहेका छन् उनीहरूले।

किसानले दुःख गरेर उत्पादन गरेको कृषि वस्तुले मूल्य नपाएको देख्दा सोमलाई दुःख लाग्छ। तर हार मान्दैनन्। ऋण थपेरै भए पनि निरन्तरता दिने योजना छ। महामारी कम भएपछि फार्म चल्छ भन्नेमा उनी ढुक्क छन्।

‘यो मेरो अभियान हो, फार्म चल्छ,’ उनले भने, ‘बन्दभरि टिकाउन गाह्रो भएको हो। ऋण थपेर पनि टिकाउँछु।’ सोमले ०७५ मंसिरबाट फार्म सञ्चालनमा ल्याएका हुन्। यसअघि करिब २४ वर्ष ‘नेपाल फाउन्डेसन’ मा काम गरेर बालबालिका पढाउने, हुर्काउने र उनीहरूसँगै भिज्ने मौका पाए। खुमलटारको युलेन्स स्कुलमा आबद्ध भएपछि उनलाई ग्रामीण र सहरी परिवेशमा हुर्केका केटाकेटीको फरक मानसिकता बुझ्न मद्दत पुग्यो।

ग्रामीण केटाकेटी सहरकाभन्दा निडर हुँदा रहेछन्,’ उनले भने, ‘खोलानदीमा फाल हाल्ने, उकाली–ओराली हिँड्ने, वन–जंगल चहार्ने हुनाले डराउँदैनन्। सहरमा हुर्केका भने खेतबारीमा जानसमेत डराउने वा दिग्मिगाउँदा रहेछन्।’

यही अनुभवले उनलाई कृषि फार्म खोल्ने आइडिया

आएको हो। सहरी केटाकेटी लक्षित गरेर १३ वर्षअघि इडियु फार्म दर्ता गरेका थिए। दर्तापछि उनी पढाइ सिलसिलामा बेलायत गए। बाल संरक्षण र व्यवस्थापनमा स्नातकोत्तर सके र थुप्रै देश घुमेर त्यहाँका कृषि फार्म अवलोकन पनि गरे। अनि फर्केर इडियु फार्म अघि बढाउन कम्मर कसे।

विदेशबाट स्नातकोत्तर गरेको मान्छे कृषिमा लाग्न खोजेको देखेर धेरैले मजाक बनाए।

कति साथीले त सोम, तेरो यो सोख मात्र हो कि पैसा पनि कमाइन्छ भनेर सोध्थे,’ उनले भने, ‘म ती साथीलाई यो मेरो सोख हो र यसबाट रमाइलो तरिकाले पैसा कमाउन पनि सकिन्छ भन्ने जवाफ दिन्थेँ।’

यही क्रममा एकदिन उनले छम्पीका स्थानीय साथी दीपक थापालाई भेटे। फार्मको योजना सुनाए। ग्रामीण परिवेशमा हुर्केका दीपकलाई सोमको योजनाले हौस्यायो। हामी बिहान उठेपछि बेलुकी नसुतेसम्म कृषिजन्य वस्तु उपभोग गर्छौं। तर हाम्रा सन्तानलाई ती वस्तु कहाँबाट आउँछन् भन्ने थाहै छैन। भावी कृषक हाम्रै सन्तान हुन्। उनीहरूलाई कृषिमा लगाव बढाउनु पनि फार्मको उद्देश्य हो,’ उनले भने।

दुईले सल्लाह गरेर फार्म मात्र होइन, पर्यटक भित्र्याउने गरी रिसोर्ट बनाउने योजना अघि बढाए। सहरीकरणले मानिसलाई प्रकृतिबाट टाढा पुर्‍याएको छ। यो फार्म मान्छेलाई सहरी घन्चमन्चबाट फेरि प्रकृतितर्फ फर्काउने एउटा उपायका रूपमा चलाउने भए। योजनाअनुरूप छम्पी भञ्ज्याङमा १८ रोपनी जग्गा भाडा लिए, पछि ७ रोपनी थपे।

यहाँ पहिले जग्गाधनीले केही रूख लगाएका थिए।

त्यसले स्याहार नपाएर झाडीमा परिणत भएको थियो। जमिन लिएपछि उनीहरूले ठूल्ठूला रूख राखेर बाँकी झाडी हटाए। फार्मको डिजाइन आफैं तयार पारे। सबै काम सकिएपछि बैंकबाट एक करोड ६० लाख रूपैयाँ ऋण लिए।

करिब डेढ वर्षपछि बाँसको सिँढी, ठाउँठाउँमा रूख, वरिपरि पशुपंक्षीको खोर र बीचमा फलाम राखेर माटोको भित्ता र बाँसको झ्याल भएको कटेज तयार

भयो। फार्मबाट वरिपरि घना जंगल देखिन्छ। लप्सीको घारी छ। पशुपंक्षी पाठशाला छ जहाँ हाँस, कुखुरा, टर्की, लुइँचे, बट्टाइ, कुखुरा लगायत छन्। गाई, भैंसी, खसी, खरायो, बाख्रा, भेडा पालिएको छ भने केही जमिनमा धान, तरकारी खेती हुन्छ।

विशेषगरी यहाँ आउने केटाकेटी पशुपंक्षी र खेतीपाती देखेर रमाउने सोम बताउँछन्। फार्ममा कीरा–फट्याङ्ग्रा पाठशाला छ। माटोभित्रै विभिन्न किसिमका कीरा–फट्याङ्ग्रा, गड्यौंला र जुका देख्न सकिन्छ।

कीरा, गड्यौंला, पुतली देखेर केटाकेटी डराउँछन्। हामी उनीहरूलाई यी हाम्रा प्रकृति हुन्, यिनीहरूसँग डराउनु हुन्न, यिनीहरूले केही बिगार गर्दैनन् भनेर सिकाउँछौं। त्यसपछि उनीहरू पुतली समात्न खोज्छन्,’ सोमले विद्यार्थीका गतिविधि सुनाए।

दिउँसो फार्म अवलोकन गर्न आउनेका लागि प्रवेश

शुल्क लाग्छ। अठार वर्ष मुनिकालाई एक सय र अन्यलाई तीन सय तोकिएको छ। बस्न आउनेले प्रवेश शुल्क तिर्नुपर्दैन। बेलुकाको खाना, भुटेको मकै, सर्वत, सुतेको सबै गर्दा एक जनाको १५ सय रूपैयाँ जति पर्ने उनी बताउँछन्। नाच्न, गाउन, म्युजिक सिस्टम, मञ्च व्यवस्था छ। मान्छेलाई प्रकृतिसँग भिजाउन वाइफाइ निषेध गरिए पनि केही विशेष काम परे पासवर्ड दिइन्छ।

ग्रामीण झल्को आओस् भनेर पिर्कामा बसेर खाने

व्यवस्था छ। टेबल–कुर्सीमै बस्न खोज्नेलाई त्यो सुविधा पनि दिइन्छ। कटेजका नाम पशुपंक्षीको छ– मयुर, न्याउली, कालिज, माटिकोरे, लामपुच्छ्रे र लामखुट्टे। आफ्नी दस वर्षे छोरीको सुझावअनुसार यो नामकरण गरेको सोमले जानकारी दिए।

फार्मबाट हाइकिङका लागि बुंगमति, फर्पिङ जलविद्युत, लेले, टीकाभैरव जान सकिन्छ।

‘फार्म अवलोकन मात्र गर्न मात्र होइन, सहरी तनावबाट मुक्त हुन परिवारै आउँथे,’ सोमेले भने, ‘केटाकेटीको किलकारीले गुञ्जायमान हुने फार्म अहिले सुनसान छ। यो सबै फेरि फर्किनेमा आशावादी छौं।’