July 28, 2021

AAjakokhaber

No 1 News Portal From Nepal

दृष्टिविहीनलाई खान र पकाउन सिकाउँदै नविना

नविना ज्ञवालीलाई वर्षौंदेखि दृष्टिविहीन समूहका लागि खाना खाने वा पकाउने कामबारे छुट्टै बहसको खाँचो छ भन्ने लाग्थ्यो। करिब तीन हप्ताअघि उनले यसै विषयमा अनलाइन कार्यशाला चलाइन्।

पचासभन्दा बढीले सहभागिता जनाएको कार्यशालामा आधा सहभागी दृष्टिविहीन थिए। ३० वर्षीया नविना पनि दृष्टिविहिन हुन्।

जुममा आयोजित कार्यक्रममा नविनाले पहिलो दिन भान्सा कोठालाई दृष्टिविहीन मैत्री कसरी बनाउने, रेस्टुरेन्टमा खाना कसरी खाने, प्लेटमा भएको अन्तिम गाँस कसरी खानेजस्ता कुरा सिकाइन्। दोस्रो दिन उनले बिहानको खाजा, खाना, दिउँसोको खाजा र बेलुकीको खाना बनाउने तरिकाहरू सिकाइन्।                                                                                  दृष्टिविहीनहरूले खाना पकाउन र खान अरूको सहयोग लिँदा हामी अरूभन्दा कमजोर छौं भन्ने लाग्न सक्छ। त्यसैले खानासम्बन्धी सबै काम आफैं कसरी गर्ने भनेर सिकाउन यो तालिम सुरू गरेकी हुँ,’ नविनाले सेतोपाटीसँग भनिन्।

नविना साथ (सपोर्टिभ एक्सन टुवार्ड ह्युम्यानिटी) की अध्यक्ष हुन्। २०७५ सालको अन्त्यदेखि सञ्चालनमा आएको यो संस्थाको उद्देश्य समाजमा दृष्टिविहीन मैत्री वातावरण सिर्जना गर्नु हो। नविनाले यही संस्थामार्फत् कार्यशाला सञ्चालन गरेकी हुन्।

नवलपरासीकी नविना बुटवलबाट प्रमाणपत्र तह पास गरेपछि काठमाडौं आएकी हुन्। २०७१ सालमा पद्मकन्या क्याम्पसबाट स्नातक सकिन्। लगत्तै शिक्षा आयोगबाट प्राथमिक शिक्षकमा नाम निकालिन्। त्यही बेला उनले अमेरिकाको ‘फुलब्राइट’ छात्रवृत्ति पनि पाइन्।                                                                        पढ्न अमेरिका जाने वा महिनाको २२ हजार तलबमा सरकारी जागिर खाने भनेर दुबिधामा परेकी थिइन् उनी। ‘धेरैले जागिर खान सुझाएका थिए। तर परिवारले आफूलाई जेमा इच्छा छ गर भनेपछि पढाइ नै रोजेँ,’ उनले भनिन्।

अमेरिकामा करिब एक वर्ष इन्टर्न र कम्युनिटी वर्कसपमा बिताइन्। उनलाई अमेरिका बसाइ नेपालभन्दा सहज लाग्यो। दृष्टिविहीनलाई त्यहाँ नेपालमा जसरी ‘विचरा’को नजरले नहेरिने कुरा उनलाई मनपर्‍यो।

पढाइलाई महत्व दिने उनले नेपाल फर्केपछि रत्नराज्यलक्ष्मी क्याम्पसबाट समाजशास्त्रमा स्नातकोत्तर गरिन्। त्यसको केही समयपछि नविना डा. वीरेन्द्रराज पोखरेलको सल्लाहमा भारतको कान्थारी इन्स्टिच्युट, केरला पुगिन्। उनले २०७५ वैशाखदेखि मंसिरसम्म त्यही कान्थारी इन्स्टिच्युटमा उद्यमशीलता तालिम लिइन्।

अमेरिका बसाइ र कान्थारी इन्स्टिच्युटको तामिलपछि नविनाको ध्यान दृष्टिविहीन समुदायलाई आत्मनिर्भर बनाउन केन्द्रित भयो।

‘यो तालिम पनि दृष्टिविहीन त्यसैको एउटा प्रयास हो,’ उनले भनिन्।

उनको यो योजना केही वर्ष पुरानो हो। यसपालि भर्चुअल माध्यमबाटै पहिलो चरणको तालिम सकेपछि उत्साहित छिन्।

‘हामी नदेख्नेहरूले देख्नेसँग अन्तर्क्रिया र सहकार्य गर्दै अघि बढ्न सुरूमा आफैंमा आत्मविश्वासको खाँचो छ,’ उनले भनिन्, ‘यस पटकको कार्यशाला यस कारणले पनि महत्वपूर्ण रह्यो।’