July 28, 2021

AAjakokhaber

No 1 News Portal From Nepal

दाइजो किन बहिष्कार नगर्ने!

दिनभरको काम सकेर म आफू बस्ने अपार्टमेन्ट फर्किन्छु। केही समयको सरसफाई र खानपिनपछि मेरो हातमा मोबाइल पर्छ। हातमा मोबाइल पर्ने बित्तिकै हतार-हतार अनलाइन समाचारका हेडलाइन र सामाजिक संजालका भित्ताहरु नियाल्न पुग्छु।

प्रायः निराशाजनक समाचार पढ्न पर्नु त हाम्रो दुर्भाग्य नै हो। किनकि दिनहुँका राजनैतिक खिचातानी, अस्थिरता र हत्या हिंसाका समाचार नै हाम्रा अखबारहरुका हेडलाइन हुन्छन्। सामाजिक संजाल पनि तिनै राजनैतिक विषयवस्तुका कुराले ताती रहेको हुन्छ।

राजनैतिक कुरालाई एकछिन थाती राखेर हेर्ने हो भने सामाजिक संजालमा धेरै देखिरहन र पढिरहन पर्ने दुःखद् समाचार वा पोस्टहरु हुन्छन्- कसैलाई न्याय देऊ। यसरी कसैलाई न्याय देऊ भनेर लेखिएका पोस्टहरुमा प्रायः अन्यायमा परेका हाम्रै महिला दिदीबहिनीहरु हुन्छन्।                                              निर्मलाहरुले वर्षौंदेखि न्याय नपाएको देशका नागरिक हौँ हामी, त्यसैले नै होला सरकारका न्याय संयन्त्रहरुमाथि सधैँ जनताले खबरदारी गरिरहन परेको छ।

यसरी कोही चेली अन्यायमा परेको बुझेपछि हामी न्यायप्रेमी नागरिकहरुले बेलाबेला बेस्सरी सामाजिक संजाल तताउछौँ। त्यतिमात्र होइन, माइतीघर मण्डलासम्म त धेरै पटक न्यायको लागि आवाज बुलन्द गर्न पुगे हौँला।

न्याय प्रेमीहरुले चर्को आवाज उठाएकै कारण कतिपय ठाँउमा अन्यायमा परेका दिदी बहिनीहरुले न्याय पाएका पनि छन्। विभिन्न खबरदारी र सरकारको सक्रियतामा अपराधीलाई कारबाही हुँदै आए पनि हाम्रा दिदीबहिनीहरु महिला हिंसाको शिकार बनिनै रहेका छन्। किनकि कतिपय हाम्रा सामाजिक संस्कारले नै हाम्रा महिला दिदीबहिनीमाथि हिंसाको लागि प्रेरणा दिरहेका छन्।

म आज यहाँहरु समक्ष विवाहित महिला दिदीबहिनीहरुले भोग्नु परेको हिंसाको एक सामाजिक कारण ‘दाइजो प्रथा’ को चर्चा गर्न चाहान्छु। हाम्रा महिला दिदीबहिनीहरु हिंसामा पर्नुको एक मुख्य कारण दाइजो प्रथा हो भनेर मैले भनिरहनु पर्ने कुरा होइन।

तर भन्नै मन लागेको कुरा के हो भने जति पनि दाइजो विरोधी आवाज उठाउनु हुन्छ, उहाँहरु अधिकांश महिलाहरु नै हुनु हुन्छ। त्यसमा नगन्य पुरुष स्वभाविक हो। सामाजिक संस्कार नै भएर जरो गाडेको दाइजो प्रथाको विरोधमा सीमित महिला दिदीबहिनीहरुले मात्रै बोलेर वा उहाँहरु मात्रै लडेर सम्भव छैन।

त्यसैले हरेक चेतनशील पुरुषहरुले पनि यसको विरुद्धमा खुलेर बोल्नै पर्छ। म पनि एक पुरुष हुँ र ममात्रै निकै जान्ने बन्न खोजेको पक्कै होइन, मसँग त्यस्तो खास केही ज्ञान र शक्ति छैन। तर जति नै पढेको छोरो मान्छे होस्, बिहे गर्ने बेलामा म दाइजो लिँदै लिन्नँ भन्ने अडान कसैले लिएको मैले देखेको छैन।

यसमा पनि अपवादमा हुनेहरुले अन्यथा नलिनु होला। अधिकांश शिक्षित दाजुभाइहरु नै बिहेमा दाइजो माग्दैनन् तर दिने हो भने बिना संकोच सहर्ष स्वीकार्छन्। यसले यो प्रथा सजिलै रोकिने संकेत देखिँदैन।

अर्को तिर सामाजिक कुरीतिसँग जोडिएको दाइजो प्रथाकै कारण अझै पनि थुप्रै चेलीहरुले आगोमा बलिरहन परेको छ। कतिलाई त पारिवारिक दबाबले नै आत्महत्या गर्न बाध्य पारिएको हुन्छ। कतिलाई परिवारले नै सामूहिक हत्या गरेर आत्महत्याको प्रमाण पेश गरेका घटना बाहिर आइरन्छन्।

कति चेलीले दाइजो नल्याएको भन्दै गरिने परिवारको मानसिक टर्चर सहेर बाँचेका होलान्। त्यसको कुनै न हिसाब छ न तथ्यांक छ।

अब पनि के यस्ता घटना अन्त्य हुनु पर्दैन र अझै पनि कहिलेसम्म हामीले हाम्रा दिदीबहिनीलाई पीडा भोग्दै बाँच्न बाध्य पार्ने? किताबी ज्ञान र स्कुल क्लेजकको शिक्षाले मात्रै पनि यो प्रथा रोकिने होइन रहेछ। यसको मतलब यो होइन कि हाम्रो शिक्षाको अर्थ नै रहेन।

शिक्षित युवाहरुकै कारण आज यो प्रथाको विरोध भैरहेको पनि छ तर नियन्त्रण भने भैरहेको छैन। जबसम्म हामी यस्तो खालको प्रलोभनबाट मुक्त हुँदैनौँ नि, तबसम्म हामीले पढेको ज्ञान र हाम्रो शिक्षाले यसलाई केही फरक पार्दैन र दाइजो प्रथा हाम्रा चेलीहरुको हत्यारा बनिनै रहनेछ।

समाजमा हरेक गलत प्रथा र संस्कारको अन्त्यको लागि चेतनशील युवापुस्ताको धेरै ठूलो भूमिका रहन्छ। सामाजिक संजाल र सडकमा न्यायको लागि चर्को आवाज बोल्ने हामी युवाहरु आफ्नै वा परिवारका सदस्यको बिहेमा दाइजो बहिष्कार गर्छु भन्न किन नसक्ने?

के पीडितको न्यायको लागि लड्ने तपाईँ-हामीले आफ्नै जीवनमा परिवर्तन लागु गर्न सक्छौँ? सक्नुपर्छ र यदि सक्दैनौँ भने सामजिक संजाल र सडकमा आएर विरोध गर्नुको कुनै अर्थ रहने छैन।                                                                                            समाज र राष्ट्रको मार्गदर्शक राजनीति हो अनि राजनीतिलाई चलाउने देशका नेताहरु र तिनै नेताहरुको सबैभन्दा धेरै सम्पत्तिको स्रोत नै दाइजो देखिन्छ। ठूला नेताहरुको सम्पत्तिको मुख्य स्रोत नै दाइजो देखिँदा यसको प्रत्यक्ष असर सामान्य जनतामा पर्न जानु सामान्य हो। यस्तो कुराले समाजमा दाइजोलाई झन् प्रतिष्ठाको रुपमा विकास गर्न मद्धत गरेको छ।